काठमाडौं । आज एकैदिन पाँचवटा संसदीय समितिका बैठक बस्दै छन् । यसरी आज बस्ने तय भएका समितिहरुमा कानून, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, अर्थ, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार रहेका छन् ।
कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा कैलाली कारागारमा यही साउन २३ गते घटेको घटना, सोको प्रभाव र समस्या समाधानका उपायहरुबारे गृहमन्त्री रमेश लेखकसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ को सम्बन्धमा छलफल हुनेछ ।
अर्थ समिति बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गरिने छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उपसमितिले गरेका निर्णयहरू सम्बन्धमा छलफल गर्ने तयारी छ ।
यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदनमा समेटिएका मूलभूत पक्षहरूका विषयमा छलफल गर्ने कार्यसूची छ ।


