काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ʻप्रचण्डʼले जेनजी आन्दोलनसम्म आइपुग्दा संविधानको निरन्तरतामा अझ विस्तार र परिमार्जन मागेको उल्लेख गरेका छन् । संविधान दिवसका अवसरमा शुभकामना दिँदै उनले संविधान र लोकतन्त्रको रक्षामार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गर्नु सबैको कर्तव्य भएको बताएका हुन्।
उनले भने,ʻयतिखेर धुलो हेरेर निराश हुने छुट हामीलाई छैन, धुलो टक्टक्याएर हामीले निर्माणको क्षमता र इच्छाशक्ति देखाउनु छ। अहिले सबैभन्दा उच्च प्राथमिकताका साथ देशव्यापी पुनर्निर्माणमा लाग्न म सम्पूर्ण पार्टी पंक्ति र जनसमुदायलाई हार्दिक आव्हान गर्दछु। देश र जनताप्रतिको हाम्रो निष्ठा र प्रतिबद्धता पुनर्निर्माणमा देखिनुपर्छ त्यसका साथै २३ र २४ गतेका घटनाहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरमा ल्याउन सरकारसँग माग गर्दछु।ʼ


