काठमाडौं । छिमेकी देश चीनको भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदै छन्। ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत भदौ १४ गते शाङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा सहभागी हुन त्यसतर्फ गएका थिए ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता गरे। उनले शिखर सम्मेलनलाई सम्बोधनसमेत गरेका छन्।
नेपाल सन् २०१६ देखि सो सङ्गठनको संवाद साझेदार रहँदै आएको छ। सन् २००१ मा स्थापना गरिएको एससिओ सङ्गठन विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय सङ्गठनमध्ये एकका रूपमा विकसित भइसकेको छ। चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य राष्ट्र हुन्।


