काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक रहेको टिप्पणी गरेका छन् ।
उनले शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सूचीकृतमा नआएका फेसबुक लगायत २६ वटा सामाजिक सञ्जाल निष्क्रिय पार्ने सरकारको निर्णयको आलोचना गर्दै यस्तो बताएका हुन् ।
‘वर्तमान सरकारले सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध गरिएको आलोचना दबाउन निरन्तर मुद्दा लगाउने, आफ्नालाई जोगाउने तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने कार्यलाई निरन्तरता दिएको छ । यसै क्रममा संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन गर्दै सामाजिक सञ्जाल नै बन्द गर्ने निर्णय सरकारले गरेको छ’, उनले लेखेका छन् ।


