काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक र संवैधानिक निकासका लागि निर्धारित मितिमा निर्वाचन हुनु आवश्यक रहेको बताएका छन् ।
उनले आज ‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २३ र २४ गते तोडफोड तथा आगजनीबाट क्षतिग्रस्त नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालय अवलोकनपश्चात् सञ्चारकर्मीसँग यस्तो धारणा ब्यक्त गरेका हुन् ।
‘राष्ट्रपति, संविधान, राष्ट्रियसभा, प्रदेश संरचना र स्थानीय तहलाई निर्वाचनकै माध्यमबाट ‘रिफ्रेस’ गर्न सकिने भएकाले निर्धारित मितिमा नै निर्वाचन सम्पन्न गर्नुपर्छ’, महामन्त्री शर्माले भने, ‘यसका लागि कांग्रेसले उचित वातावरण बनाउन सहयोग गर्छ ।’
प्रदर्शनपछि बनेको अन्तरिम सरकार असफल भए लोकतन्त्र नै खतरामा पर्ने भएकाले सरकारलाई सफल बनाउन कांग्रेसले सहयोग गर्न तयार रहेको उनको भनाइ थियो ।


