काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले नेपालको जल एवम् सौर्य ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् ।
उनले मंगलबार भारतको नयाँ दिल्लीमा वृहत स्तरको स्वच्छ ऊर्जा रुपान्तरणका लागि क्षेत्रीय तथा विश्व अन्तरआवद्धताको परिकल्पनाबारे आयोजित सभाको विषयगत सत्रमा विशाल ऊर्जा सम्भावनाको दिगो विकास र त्रिपक्षीय विद्युत् व्यापार (नेपाल–भारत–बङ्गलादेश) का लागि मार्गचित्र विषयमा मुख्यरविशेष वक्ताको रुपमा सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन् ।
नेपालको स्वच्छ ऊर्जाको यात्रा नयाँ युगतर्फ प्रवेश गर्ने महत्त्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै घिसिङले यस्तो आह्वान गरेका हुन् । ‘जलविद्युतको अपार सम्भावना, बढ्दो सौर्य ऊर्जा क्षमता र विस्तार हुँदै गएको अन्तरदेशीय प्रसारण लाइनले हामीलाई ऊर्जा क्षेत्रमा दिगो बनाउन सक्ने सम्भावना छ,’ उनले भने, ‘म हाम्रा मित्र राष्ट्र र साझेदारलाई निम्तो दिन्छु( नेपालमा लगानी गर्नुहोस्, नवीकरणीय ऊर्जामा लगानी गर्नुहोस् र सबैका लागि उज्यालो तथा हरित भविष्यको हिस्सा बन्नुहोस् ।’


