काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आगामी मंसिरभित्र विधिवत् महाधिवेशन गरी नयाँ कार्यसमितिको चयन गर्नुपर्ने अडान कायमै राखेका छन् ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशनलाई धकेल्न खोजेको आशंकासमेत गरेका छन् ।
वर्तमान कार्यसमितिको मनसाय नै समयमा नियमित महाधिवेशन नगर्ने र केन्द्रीय कार्यसमितिको म्याद थप्नेतर्फ उद्यत् देखिएको उनीहरूले लगाएका छन् ।
उनीहरुले बदलिँदो राजनीतिक परिवेशलाई आत्मसात गर्दै कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै पार्टी विधानको केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरिसकेको जनाएको छ। केन्द्रीय समितिको बैठकलाई सुक्ष्मरुपमा नियालिरहेको उनीहरूको भनाई छ। नेपाली कांग्रेसका नेता गुरु घिमिरेले पार्टी विधान बमोजिम विशेष महाधिवेशनको माग गर्ने सार्वभौम अधिकार महाधिवेशन प्रतिनिधिहरुमा निहित रहेकोले यसको अवमूल्यन गर्ने वा टार्ने, छल्ने छुट कसैलाई पनि नभएको बताए।


