काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले यो सरकारको मुख्य मिसन भनेकै ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्नु रहेको प्रष्ट पारेकी छिन् ।
प्रधानमन्त्री कार्कीले आज परराष्ट्र मन्त्रालयमा नेपालस्थित कूटनीतिक निकायका प्रतिनिधिसँगको ‘ब्रिफिङ’मा वर्तमान सरकारको एकमात्र उद्देश्य आगामी फागुन २१ गते स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी सत्ता हस्तान्तरण गर्ने रहेको बताइन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, “सरकारसहित राज्यका सम्पूर्ण संयन्त्रहरू विश्वसनीय निर्वाचनका लागि आवश्यक सुरक्षा, कानुनी संरचना र व्यवस्थापन सुनिश्चित गर्न केन्द्रित छन् । हामी निर्वाचन आयोगलाई सशक्त पार्दैछौँ, सुरक्षालाई सुधार गर्दैछौँ र सबै राजनीतिक दल तथा सरोकारवाला, ‘जेनजी’ प्रतिनिधिहरूसहित, संवाद गरिरहेका छौँ ।”


