काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले सुरक्षित स्थान पहिचान गरेर बस्ती बसाउन नसक्दा हरेक वर्ष विपदबाट जनधनको क्षति हुने गरेको बताए ।
विश्व बसोबास दिवसको अवसरमा सहरी विकास तथा भवन निर्माण विभाग र संयुक्त राष्ट्रसङ्घीय मानव बसोबास कार्यक्रमले सोमबार आयोजना गरेको कार्यक्रममा उनले मानिसको सामाजिक, वातावरण र आर्थिक पक्ष जोड्न नसक्दा एकीकृत बस्ती कार्यक्रम पनि सफल हुन नसकेको बताए ।
‘देशका केही ठाउँमा एकीकृत बस्ती निर्माण ग¥यौँ, तर समुदायलाई सामाजिक, वातावरण र आर्थिक पक्षसँग जोड्न नसक्दा ती बस्ती खाली हुन थाले । ग्रामीण र सहरी क्षेत्रका अव्यवस्थित बस्तीलाई सुरक्षित एवं व्यवस्थित बनाउनु अहिलेको सबैभन्दा ठूलो चुनौती हो’, मन्त्री घिसिङले भने, ‘मनसुनजन्य विपद्बाट बच्न पूर्वसूचना प्रवाह गर्दागर्दै पनि भौगोलिक रूपमा जोखिमयुक्त स्थानको ‘म्यापिङ’ गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न नसक्दा हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरेको छ । अब यसमा गम्भीर बन्नुपर्ने आवश्यकता छ ।’


