काठमाडौं । नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले निजामती सेवाको गरिमा उच्च बनाउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदबहाली गर्दै अर्यालले निजामती सेवाको साख बढाउँदै जनसन्तुष्टि अभिवृद्धि आफ्नो कार्यकालको शीर्ष प्राथमिकता हुने स्पष्ट गरे।
मुख्यसचिव अर्यालले चुनौतीपूर्ण परिस्थितिमा प्राप्त जिम्मेवारीलाई निःस्वार्थ भावना र पूर्ण जिम्मेवारीबोधका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै भने, ‘मेरो शक्ति, ज्ञान र अनुभव सार्वजनिक सेवालाई चुस्त र नागरिक(मैत्री बनाउँदै मुलुकको समग्र रूपान्तरणमा केन्द्रित हुनेछ।’
पदबहालीका क्रममा उनले सुशासन र न्यायका मागसहित भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने युवापुस्ताप्रति श्रद्धाञ्जलि व्यक्त गरे। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले आन्दोलनले उजागर गरेका सुशासन, पारदर्शिता र उत्तरदायित्वका मापदण्डहरू कार्यान्वयनमा विशेष जोड दिने संकेत दिए।


