काठमाडौं । सरकारले सात सचिवहरुको सरुवा गरेको छ । गत ११ पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको सरुवा गरेको हो ।
सरकारले गृहसचिवको जिम्मेवारी राजकुमार श्रेष्ठलाई दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवजारी दिँदै त्यहाँ कार्यरत रामेश्वर दंगाललाई लोक सेवा आयोगमा सरुवा गरिएको छ।
यसअघि लोक सेवा आयोगमा कार्यरत किरणराज शर्मालाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरिएको छ। नयाँ सरकार बनेको केही दिनपछि गोकर्णमणि दुवाडीलाई हटाएर दंगाललाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको थियो। तर उनी तीन महिनामै सरुवा भएका हुन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्कर पनि सरुवा भएका छन्। उनलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ।
राष्ट्रपति कार्यालयका सचिव दीपक काफ्लेले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवको जिम्मेवारी पाएका छन्। काफ्ले यसअघि सहसचिव हुँदा पनि श्रम मन्त्रालयमा कार्यरत थिए।
युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी लोकनाथ पौडेलले पाएका छन्। यसअघि खेलकुद मन्त्रालयको सचिव रहेका डा. हरि लम्साललाई राष्ट्रपति कार्यालय सरुवा गरिएको छ। पौडेल यसअघि उपराष्ट्रपति कार्यालयमा कार्यरत थिए।


