काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले जनजीवनसँग प्रत्यक्ष जोडिएका आयोजना समयमै गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गर्नु आफ्नो पार्टीको प्रतिबद्धता भएको बताएका छन् ।
उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा सवा सात मिनेट लामो भिडियो सन्देश जारी गर्दै सो जानकारी दिएका हुन् । ‘हाम्रोमा पूर्वाधार समयमै नबन्ने ठूलो समस्या छ । यसले विकासको लागत त बढाएको छ नै सँगै अर्थतन्त्रको इकोनोमिक प्रोडक्टिभिटीमा पनि ठूलो असर पारेको छ, जसको अपरचुनिटी कस्ट अत्यन्तै उच्च छ,’ भिडियोसँगै थापाले लेखेका छन्, ‘सडक, सिँचाइजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका आयोजना समयमै गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गर्नु हाम्रो प्रतिबद्धता हो ।’
जादु गरेको जस्तो, चमत्कार गरेको जस्तो समस्याको हल निस्किन्छ भनेर सोच्दा अर्को पाँच वर्ष पनि खेर जाने भन्दै उनले आगामी पाँच वर्ष खेर नजाने गरी काम गर्नुपर्ने भिडियो सन्देशमा उल्लेख गरेका छन् ।


