काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान संविधानको संरक्षण गरी आवश्यक संशोधन गरेर अझै क्रियाशील र गतिशील बनाइने बताएका छन् ।
सोमबार विराटनगरमा नेपाली कांग्रेस कोशी प्रदेश समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै थापाले कांग्रेसको सरकारले प्रत्येक महिनाको पहिलो दिन नागरिकका सामु उभिएर आफ्नो कामको लक्ष्य सार्वजनिक गर्नेछ र महिनाको अन्त्यमा कति उपलब्धि हासिल भयो भन्ने फेहरिस्त पेश गर्ने दाबी गरे। यो पाँच वर्षलाई ’डेलिभरी’ र ’पर्फोर्मेन्स’ को वर्ष बनाइने र नागरिकले सरकारको मूल्यांकन गर्न पाँच वर्ष कुर्नु नपर्ने उनको तर्क छ।
मुलुकका ७५३ पालिका, सातै प्रदेश र संघलाई आपसमा जोडेर लैजाने क्षमता कांग्रेससँग मात्रै रहेको जिकिर गर्दै थापाले कुनै एक व्यक्तिको चमत्कारले मात्र देश नबन्ने स्पष्ट पारे।


