काठमाडौं । गुल्मीबाट हार ब्यहोरका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति गगन थापालाई राजीनामा दिने भन्दा महाधिवेशनमा चाँडो जाने विषयमा निर्णय गर्न आग्रह गरेका छन् ।
‘राजीनामा दिने होइन, जिम्मेवारी पूरा गर्ने समय हो। अधिवेशनका लागि बनेको कांग्रेसको चुनाव नियमित थिएन। त्यसैले गगनकुमार थापाज्यूले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो’, नेता भण्डारीले मंगलबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिलेको अवस्थामा कांग्रेस बचाउनु आफैँमा एक नैतिक दायित्व हो। आजको कटु यथार्थ के हो भने युवाहरूले कांग्रेसलाई छोड्दै गएको समय हो। यस्तो बेला पार्टीलाई औषधि खुवाउनुपर्ने हुन्छ, छाडेर हिँड्न हुँदैन। नैतिकता त नेपाली राजनीतिमा प्रायः मरिसकेको अवस्था छ, त्यसैले अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ बिरुवा रोप्नैपर्छ। समस्या देखेर भाग्नु होइन, उपचार गरेर संगठन जोगाउनु नै साँचो नेतृत्वको कर्तव्य हो। नेपाली कांग्रेसलाई बचाउने लडाइँ आज पनि सम्भव छ, यदि इच्छाशक्ति र साहस छ भने।’


