काठमाडौं । ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गर्ने भन्दै ६ लाख घुस लिने इन्जिनियर रंगेहात पक्राउ परेका छन् । यसरी घुससहित इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्ली राज खड्का ६ झापाबाट पक्राउ परेका हुन्।
इन्जिनियर खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिएको तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने प्रयोजनको लागि दुःख हैरानी दिई घुस मागेको भन्दै अख्तियारमा सूचना पुगेको थियो।
उक्त सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल र आयोगको कार्यालय, इटहरीबाट संयुक्त रूपमा खटिई गएको टोलीले इन्जिनियर खड्कालाई सेवाग्राहीबाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको हो।
उनलाई झापाको दमक नगरपालिका वडा नम्बर १ स्थित खाजाघरबाट आज असार ३१ गते बुधबार अख्तियारको टोलीले पक्राउ गरेको हो।


