काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक (दशौं तह) डा.अर्जुन प्रसाद सापकोटाविरुद्ध गैरकानुनी रुपमा आयआर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले शुक्रबार डा। सापकोटा र उनकी पत्नीलाई समेत प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो।
सापकोटाले स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत रहँदा गैरकानुनी रुपमा आयआर्जन गरेको उजुरी अख्तियारमा परेको थियो। अनुसन्धानको क्रममा उनको सेवा अवधिमा वैध आम्दानीभन्दा दुई करोड तीन लाख ९४ हजार ६१५ रूपैयाँ बढी फेला परेको अख्तियारको दाबी छ। अख्तियारले बढी देखिएको सम्पत्ति बराबर बिगो कायम गर्दै मुद्दा दायर गरेको हो।
सापकोटाको सुरू नियुक्ति २०५३ साउन २५ गतेदेखि २०८० वैशाख ३० गतेसम्मको अवधिको आय–व्यायमा अनुसन्धान गरेको थियो।


