काठमाडौं । बैंकबाट ऋण दिँदा घुस लिने नेपाल बैंक लिमिटेडका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी विशेष अदालतबाट दोषी ठहर भएका छन् ।
बुधबार विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई दोषी ठहर गरेको हो ।
कर्जा प्रवाहका क्रममा तीन व्यवसायीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ जेठमा अधिकारीसहितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अधिकारीसँग सम्बन्धित ६ वटा छुट्टाछुट्टै मुद्दा दायर भएका थिए ।
विशेष अदालतका अनुसार ती ६ मुद्दामध्ये दुईवटामा अधिकारी दोषी ठहर भएका छन् भने दुईवटामा आंशिक ठहर भएको छ । बाँकी दुईवटा मुद्दामा भने उनलाई सफाइ दिइएको छ ।
यसै प्रकरणमा प्रतिवादी बनाइएका सुमित्राकुमारी घिमिरे र ईश्वरीप्रसाद गौतमले भने सफाइ पाएका छन् ।



