सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिकाले सामुदायिक विद्यालयका कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीलाई निःशुल्क स्टेशनरी उपलब्ध गराउन थालेको छ ।
गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले आफ्नो यो अभ्यास देशमै पहिलो हुनसक्ने बताए । आर्थिक अभावका कारण शैक्षिक सामग्री दिन नसक्ने अभिभावकलाई यसले ठुलो राहत दिने उनको दावी छ । उनले सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय बनाउन यस्तो नयाँ अभियानको थालनी गरेको बताए ।
पालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै सामुदायिक विद्यालयमा यसको सुरुआत गरेको हो । नेपाल सरकारले कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीलाई निःशुल्क दिवा खाजाको ब्यवस्था गरेकोमा पालिकाले बालकक्षादेखि कक्षा १० सम्म नै दिवा खाजा दिने कार्यक्रम लागू गरेको उनले बताए ।
अध्यक्ष शेर्पाले भोटेकोशीले दिवाखाजामा स्थानीय उत्पादनका अर्गानिक परिकार मात्रै खुवाउने नीति लिएको बताए । दिवाखाजामा जंकफुड र आयातित खाद्यपदार्थ निषेध गरिएको र सबै विद्यालयलाई दिवाखाजामा स्थानीय उत्पादनको परिकारको व्यवस्था गर्न उत्पादनमै जोड दिएको उल्लेख गरे । यसका साथै उनले एक विद्यालय एक टनेलसमेत वितरण गरिएको बताए । उनले कक्षा १२ सम्मको शिक्षालाई समेत निःशुल्क गरिएको दावी गरे ।
अध्यक्ष शेर्पाले भने, ‘शैक्षिक क्षेत्रमा भोटेकोशी गाउँपालिका नमूना बनाउने लक्ष्य छ, हामीले कक्षा ५ सम्मका विद्यार्थीलाई स्टेशनरीसहित १० सम्मका सबै विद्यार्थीलाई दिवाखाजा र १२ सम्मको शिक्षा पूर्णरुपमा निःशुल्क गरेका छौं ।’ उनले यसो गर्नाले गाउँकै विद्यालय अध्ययन गरे पनि विश्वमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन हुने बताए ।


