काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सरकारले आफूहरुसँग गरेको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। सोमबार महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो ।
सहमति कार्यान्वयन नहुँदा ४० अर्ब रुपैयाँभन्दा बढी रकम बराबरको निर्माण कार्य सम्पन्न भइसकेको बिल निर्माण व्यवसायीले सम्बन्धित कार्यालयमा पेस गर्न नसकेको महासंघले जनाएको छ।
महासंघसँग भएको सहमति कार्यान्वयन गर्न गत असोज १८ गते निर्देशन दिइए पनि सार्वजनिक निकायका पदाधिकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, महालेखा परीक्षकको कार्यालय लगायत निगरानी गर्ने निकायको त्रास देखाएर म्याद थप गर्ने, मूल्य समायोजन गर्ने लगायत बुँदा कार्यान्वयन गर्न नमानेको महासंघको विज्ञप्तिमा उल्लेख छ।


