काठमाडौं । पर्वत जिल्लाको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पुर्पक्षको लागि जेल चलान भएका छन् । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिष्ट्रार उनी कास्कीको सूर्यदर्शन सहकारीको कार्यक्षेत्र विस्तारको लागि घुस लिएको अभियोगमा जेल गएका हुन् ।
जिल्ला न्यायाधीश ऋषिराज पराजुलीको इजलासले उनलाई थुनामा पठाएको हो । उनीमाथि पक्राउ परेका सहकारीका अध्यक्ष रमण पौडेलले कार्यक्षेत्र विस्तारको क्रममा १ करोड २५ लाख रुपैयाँ बुझाएको जिकिर गरेका छन्। सोही आधारमा उनी पुस ११ गते कुश्माबाट पक्राउ परेका थिए।
जिल्ला प्रहरी कार्यालय कास्कीले पुस ८ गते मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको आर्थिक अपचलन गर्ने ३२ जनाविरुद्ध ३१ करोड विगो दावीसहित सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो।


