काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार निर्वाचन निष्पक्षका सदैव प्रतिबद्ध रहेको बताएकी छन् ।
उनले बुधबार बिहान भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठान, मध्यपुर थिमिद्वारा आयोजित शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पण तथा सम्मान समारोहलाई सम्बोधन गर्दै यस्तो धारणा राखेकी हुन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘सरकारले २०८२ फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्न जिम्मेवारी पाएको विदितै छ । सरकारसँग नेपालको संविधानअनुसार जेनजीको यथोचित आवाजलाई सम्बोधन गरी नेपाली जनतालाई सेवा दिनुपर्ने दायित्व छ । लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न भयरहित ढङ्गले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध छ ।’


