काठमाडौं । पछिल्लो केही दिनदेखि उकालो लागिरहेको सुनको मूल्य शु्क्रबार झन् बढेको छ । आज सुनको प्रतितोला मूल्य १ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भएको छ ।
वैशाखयता सुनको मूल्य १ लाखभन्दा तल रहँदै आएको थियो । गत फागुन २५ गते भने सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको थियो । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १ हजार ३९० रुपैयाँ कायम भएको छ । बिहीबार १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।


