काठमाडौं । चीनसँग सीमा जोडिएको तातोपानी नाका सोमबारदेखि दुईतर्फी सञ्चालनमा आएको छ।
सोमबार बिहान नेपालबाट २९ लाख २९ हजार ८ सय ११ रुपैयाँ बराबरको तीन ट्रक मुडा र म्याट्रेस चीनतर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले बताए।
गत महिना नेपाली र चिनियाँ अधिकारीबीच ल्हासामा भएको बैठकपछि यो नाकालाई २०७२ को भूकम्पअघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भएको थियो।
उक्त सहमतिअनुसार नै नेपाल र चीन दुवैतर्फबाट यो नाकाबाट आयात निर्यात खुल्ला भएको हो। यसअघि यो नाका चीनबाट सामग्री ल्याउन एकतर्फी सञ्चालनमा आएको थियो।


