काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमाले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक भट्टराईले एमाले कुनैपनि सर्तमा यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको स्पष्ट पारे । उनले गठबन्धन तोडेमा एमालेले एमसीसी पास गर्न सघाउने भन्ने हल्लामा सत्यता नरहेको बताए ।
एमालेलाई गठबन्धन तोड्न कुनै रुची नभएको उल्लेख गर्दै उनले वर्तमान सरकार पूर्ण अवधि चलोस् र गठबन्धन जारी रहोस् भन्ने पक्षमा एमाले रहेको बताए । उनले भने – ‘यस्ता मिथ्या आरोपको कुनै अर्थ छैन । एमालेलाई अहिले यो गठबन्धन तोड्न कुनै रुची छैन ।
सरकारमा जान कुनै रुची छैन । नेकपा एमालेलाई अहिले कुनै अर्को गठबन्धन बनाएर सरकारमा जाउँ भन्ने छैन । हामी विल्कुल यो सरकार पूर्ण अवधि चलोस् । यो गठबन्धन जारी राखोस् भन्ने पक्षमा छौं । र स्पष्ट गर्न चाहान्छु म नेकपा एमालेको तर्फबाटकी यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नेकपा एमाले छैन । कुनै सर्तमा पनि हामी एमसीसी यथास्थितिमा पास गर्ने पक्षमा छैनौं ।’