काठमाडौं । काठमाडौं महानगर क्षेत्रका तार व्यवस्थापन गर्न सुरु गरिएको छ । आज बिहानबाट नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार व्यवस्थित गर्ने अभियान थालेका हुन्।
काठमाडौं महानगरपालिका, दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवाप्रदायक कम्पनीका प्रतिनिधिबीच आइतबार भएको सहमतिअनुसार महानगर क्षेत्रका अव्यवस्थित तारलाई व्यवस्थित बनाउन थालिएको हो।
आज बिहान ८ बजे माइतीघर मण्डला र न्युरोड क्षेत्रका सडक किनारका पोलमा गुजुल्टो परेका, चुँडिएका तथा लत्रिएका तार हटाउने र व्यवस्थित ढंगले टाँग्ने काम थालिएको हो।
यसअघि आजै बिहान दूरसञ्चार प्राधिकरणले ‘जरुरी सूचना’ जारी गरी टेलिफोन तथा इन्टरनेटलगायतका तार सडक छेउका पोलमा गुजुल्टो भएको, चुँडिएको तथा लत्रिएकाले सहरी सुन्दरता बिग्रिनुका साथै दुर्घटनासमेत हुने गरेकाले त्यस्ता तार हटाउन लागिएको जानकारी दिएको थियो।


