काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् । ढिलोमा पनि एक वर्षभित्र मुलुकमा निर्वाचन हुने र त्यसपछि एमालेले सरकार बनाउने उनको दाबी छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले एमालेको सरकार बनेपछि मुलुकमा पुनर्निर्माण र नवर्निर्माणको काम तीव्रताका साथ अघि बढाउने बताए । सम्पदाहरूको पुनर्निर्माण, राजमार्गलगायतका पूर्वाधारको निर्माण कार्य देख्न नसक्नेहरूले आफूलाई सरकारबाट हटाएको उनको दाबी छ ।
‘चुनाव हुन अब बेस्सरी ढिला भयो भने एक वर्ष हो । एक वर्षमा चुनाव हुनैपर्छ । एक वर्षमा चुनाव भएपछि मैले भनिरहनु पर्लाजस्तो लाग्दैन– अब कसेको सरकार बन्छ देशमा । त्यसो भएर एक वर्ष पर्खनुपर्ने हो, ओलीले भने ।
हिजो आफूले केही काम गर्नका लागि नटबोल्ट जोडेको भन्दै उनले केही नटबोल्ट खुस्केर गएको टिप्पणी गरे । मैले अलि केही काम गर्नका लागि नटबोल्ट जोडेको थिएँ । कसले कसले खुस्काई दियो । खुस्केका खुट्टा गए, ओलीले भने, मेहनत गरेर जोडियो ।