काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा प्रदेश २ बाट समूह छलफलको निष्कर्ष सुनाउने टोली नेता चयन भएका रामचन्द्र मण्डललाई स्थायी कमिटी सदस्य रघुवीर महासेठले बोल्न नदिएको विषयमा शीर्ष नेताले चासो व्यक्त गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल तथा उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलले रघुवीरलाई सचेत गराउने भन्दै मण्डललाई बोल्न नदिइएको विषय गम्भीर रुपमा लिइने बताएका छन् ।
समूहगत छलफलमा प्रदेश २ का केन्द्रीय सदस्यहरुले मण्डललाई टोली नेता र निर्मला देवकोटालाई उपनेता बनाएका थिए । त्यस्तै सरोज यादव र बद्री मैनालीलाई बहस नोटका जिम्मा दिइएको थियो ।
शुरुमा प्रदेश अध्यक्ष ज्वालाकुमारी शाहलाई टोली नेता बनाउने कुरा उठे पनि महासेठले नै धनुषा इन्चार्ज रामचन्द्र मण्डललाई बनाउन सुझाव दिएका थिए । ज्वाला र रामचन्द्र दुवैजना माओवादीबाट नेकपा एकता प्रक्रियासँगै एमाले भएका हुन् ।
समूहगत छलफलको टिपोट सकिएर शनिवार टाइप गर्ने ठाउँ नभएपछि हातैले लेखेका बुँदाहरु पढ्न मण्डल तयार भए । अन्तिममा रघुवीरले ‘खोइ के के बनाउनुभयो ? भन्दै टिपोट मागेर हेरे ।
त्यसको पहिलो बुँदामै लेखिएको ‘अध्यक्ष कमरेडको राजनीतिक प्रतिवेदनमा शुरुमै यो पार्टी नेकपा एकताको निरन्तरता हो भनेर प्रष्ट भाषामा लेख्नुभएकोमा धन्यवाद दिन चाहन्छौ । अब १० बुँदे कार्यन्वयनसँगै जेठ २ को एमालेका संरचनाहरु फर्किदा नेकपा एकताका बेला तत्कालीन माओवादीका जिम्मेवारी पनि यथावत हुनुपर्छ ।
यो बुँदा नै महासेठलाई मन परेन । यसो गर्दा महासेठको प्रदेश इन्चार्ज पद नरहने भयो । त्यसैले उनले त्यो काट्न लगाए । काट्न कसैले नमानेपछि विवाद भयो । महासेठले ‘त्यसो भए तपाई नबोल्नुस’ भनेर मण्डललाई निर्देशन दिए । मण्डलले ठीक छ त्यसो भए म बोल्दिन भने ।
मण्डल नबोल्ने भएपछि कसले टोली नेताको रुपमा प्रस्तुत गर्ने भन्ने विवाद भयो । महासेठले सरोज यादव, टेकवहादुर बलम्पाकी लगायतलाई बोल्न भने । तर एउटा कमरेडलाई अपमान गरिएको भन्दै कोही बोल्न नमानेपछि अन्तिममा बद्री मैनालीले बोलेका थिए ।
प्रदेश २ को प्रस्तुति फितलो भएको चर्चा समेत बैठकमा चलेपछि महासचिवले ‘कसैको छुटेको कुरा भन्नु छ’ ? भनेर सोधेपछि रामचन्द्र मण्डल उठेर बोल्न समय मागे ।
उनले आफूलाई टोली नेता भएर पनि बोल्न नदिइएको भन्दै यस्तो भयो भने पूर्व माओवादीको संरक्षण कसले गर्ने ? भन्ने भाबुक प्रश्न गरे ।