काठमाडौं । चितवनमा शुक्रबारदेखि जारी १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नेकपा एमालेको नयाँ नेतृत्व चयन प्रक्रिया आज (शनिबार) बिहान सुरु हुँदै छ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार अहिले बिहान ८ बजे बन्दसत्र सुरु हुनेछ।
यसअघि शुक्रबार मध्यराति बसेको साविक केन्द्रीय कमिटीको बैठकले सर्वसम्मती गराउन पदाधिकारीदेखि केन्द्रीय कमिटीसम्म विस्तार गर्दै विधान संशोधन प्रस्ताव पारित गरेको छ।
साविक विधानबमोजिम पदाधिकारी संख्या १५ छ। तर नयाँ प्रस्तावबमोजिम २ जना उपमहासचिव र २ जना उपाध्यक्ष थपेर पदाधिकारी संख्या १९ पुर्याइएको हो। प्रस्ताव पारित भएसँगै एमालेमा उपमहासचिव ३ र उपाध्यक्ष ७ जना हुने भएका छन्।
आफ्नै समूहका नेताहरूमा पदाधिकारीका आकांक्षी धेरै देखिएपछि अध्यक्ष केपी शर्मा ओलीले सबै समेट्ने प्रयासअनुरूप पदाधिकारी थप्ने निर्णय गराएका हुन्।
त्यस्तै बैठकले केन्द्रीय कमिटी पनि २२५ सदस्यीयबाट ३०१ सदस्यीय बनाउने निर्णय गरेको छ। यस्तै एमालेले पोलिटब्युरो कमिटी पनि ब्युँताउने निर्णय गरेको छ।
पोलिटब्युरोमा ९९ जना सदस्य रहनेछन् भने ४५ स्थायी स्थायी कमिटी यसअघि नै छ।
बैठकले अध्यक्षदेखि सबै पदाधिकारी र केन्द्रीय समिति पनि सर्वसम्मत चयन गर्ने निर्णय गरेको कार्यालय सचिव तामाङले बताए।
शुक्रबार मध्यरारति बसेको केन्द्रीय कमिटी बैठकले निर्णय गरेजस्तै आजको बन्दसत्रले एमालेको नयाँ नेतृत्व सर्वसम्मत चयन गर्छ त ?