काठमाडौं । नेकपा (एमाले ) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले कमिसनको लोभमा अरबौं रुपियाँको स्वास्थ्य सामग्री खरिद गर्ने तयारी गरिरहेको आरोप लगाएका छन् ।
अध्यक्ष ओलीले आइतबार मे दिवसको अवसरमा हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले चुनावको मुखमा कमिसनको लोभमा फसेर स्वास्थ्य सामग्री खरिद गर्न लागेको बताए । ‘अर्बौंको औषधि, सिटी स्क्यान, एक्स(रे मेसिन खरिद गर्ने तयारी भइरहेको छ । कुनै अस्पताल, डाक्टरलाई चाहिएर खरिद गर्न लागिएको होइन । कमिसन चाहिएर खरिद गर्न लागिएको हो ।’ उनले स्वास्थ्यमन्त्री विरोध खतिवडाप्रति लक्षित गर्दै २४ लाख कोरोना भ्याक्सिन हराएको विषयमा समेत टिप्पणी गरे । ‘२४ लाख भ्याक्सिन निल्यो । अब अर्बौको औषधि खरिद हुँदैछ’उनले भने ।
उनले सत्तारुढ गठबन्धन विकास गर्न नभएर सरकरा देशलाई कंगाल पार्न जन्मिएको आरोप लगाए । ‘यो सरकार खानलाई जन्मिएको हो । विकास गर्न होइन,’ ओलीले भने । सत्तारुढ गठबन्धन बाध्यताले चुनाव गर्न थालेको उनले बताए । ‘सरकार अझै पनि चुनाव विथोल्न खोजिरहेको छ । १२ दिनपछि चुनाव हुँदैछ । तर, गठबन्धन चुनाव हुन नदिने बहाना खोजिरहेको छ ।’