काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांगेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले कम्युनिष्टले देश विकास गर्न नसक्ने दावी गरेका छन् ।
पार्टी खेलकुद विभागमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता बस्नेतले जनताले कम्युनिष्टको सस्तो नारा र प्रचारबाजीलाई विश्वास गरेर झण्डै दुई तिहाइ मत दिएर विजयी गराए पनि उनीहरुले केही गरेर देखाउन नसकेकाले अब कसैले पनि उनीहरुको कुरा पत्याउन नहुने बताए । जनताले दिएको मतमाथि कम्युनिष्टले गद्धारी गरेको आरोप लगाउँदै नेपाली कांग्रेसले मात्रै सबैको विकास गर्नसक्ने दावी गरे । नेपाली युवाहरुलाई आकर्षित गर्न एमाले र माओवादीले दिएको सस्तो नारामा अब कसैले पनि विश्वास गर्न नहुने बताए ।
पार्टी प्रवेश कार्यक्रममा भोटेकोशी गाउँपालिका वडा नम्बर २ का करिव १०० जना युवाहरु माओवादी केन्द्र परित्याग गरेर नेपाली कांग्रेसमा आवद्ध भएका छन् । माओवादी केन्द्रका स्थानीय नेता अर्जुन घतानीको नेतुत्वमा उनीहरु कांग्रेस प्रवेश गरेका हुन् । उनीहरुले आफूहरु तातोपानी नाका छेउका स्थानीय वासिन्दा भएकाले नाका सहज रुपमा खुलाउन पहल गर्नुको साटो यस निर्वाचन क्षेत्रबाट सांसद बनेका प्रतिनिधिसभाका सभामुखसमेत रहेका अग्निप्रसाद सापकोटाले हालैमात्र गरेको भाषणले नै उनीहरु कति गैरजिम्मेवार छन् भन्ने प्रमाणित गरेकोले अब यस भेगका युवाहरु मओवादीमा नलाग्ने जिकिर गरे । कार्यक्रममा कांगेस नेता हरिशरण श्रेष्ठ, युवा नेता युधिर पौडेल, भोटेकोशी २ का नेता कुमार श्रेष्ठ, बच्चु घतानी लगायतकाको उपस्थिति रहेको थियो ।