काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) व्यवस्थापनको बैठकले कोरोनाको तेस्रो लहर आएसँगै कम्तीमा पनि माघ १५ गतेसम्म सबै विद्यालयमा बिदा दिनुपर्ने निर्णय गरेको छ।
नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रनसहित तेस्रो लहर आउने जोखिम बढिरहेका बेला सुरुमा कम्तीमा १५ दिन विद्यालय बन्द गर्ने गरी निर्णय भएको हो।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता एवम् सहसचिव सुनिता नेपालले बताए अनुसार कोभिडको बढ्दो दरलाई ख्याल गर्दै जाडो बिदालाई माघ १५ सम्म लैजाने गरी निर्णय भएको छ।
अझै पनि सबै नागरिकलाई खोप पुग्न सकेको छैन। १८ वर्षमुनिका सबै विद्यार्थीलाई कोरोना खोप लगाउन नसकेको अवस्था छु, उनले नेपालखबरसँग भनिन्, कोरोनाको बढ्दो दरलाई ख्याल गर्दै व्यवस्थापन समन्वय केन्द्रको बैठकले यस्तो निर्णय लिएको हो।
व्यवस्थापन केन्द्रको निर्णय अब मन्त्रिपरिषद्बाट निर्णय गराएर कार्यान्वयनमा लगिने छ। कोभिड(१९ संकट व्यवस्थापन निर्देशक समितिको बैठकले विद्यालय बन्द गर्न निर्देशन दिन सक्थ्यो। तर व्यवस्थापनको बैठकको निर्णयलाई भने मन्त्रिपरिषद्मा लगेपछि स्वीकृत गराएर कार्यान्वयन गर्नुपर्ने हुन्छ।