सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत स्वास्थ्य मन्त्री बन्ने भएका छन् । सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका उनलाई पार्टीले स्वास्थ मन्त्रीमा सिफारिस गरेको हो ।
बस्नेतले यसपालि यसअघि कम्युनिष्टको गढ मानिँदै आएको क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङलाई फराकिलो मतान्तरले पराजित गरेका थिए । संस्थापन निकट मानिएका उनी कांग्रेसमा प्रभावशाली र हक्की स्वभावका नेताका रुपमा चिनिन्छन् ।
बस्नेत यसअघि स्वास्थ्य राज्यमन्त्री र २०७४ सालमा सूचना तथा सञ्चारमन्त्री भएका थिए । उनी अगिल्लो कार्यकालमा पार्टीको केन्द्रीय खेलकुद विभागका संयोजक समेत हुन् ।
उनले विशेषगरी जुरे पहिरो, विनासकारी भूकम्प, तथा कोरोना महामारीको समयमा निकै सक्रियापूर्वक काम गरेका थिए । कोरोना महामारीमा जनतालाई स्वास्थ्य साम्रग्री तथा राहत वितरण गरेकोमा उनलाई स्थानीय प्रशासनले उक्त कार्य गर्न रोकसमेत लगाएको थियो । बाह्रबिसे नगरपालिकाका स्थायी वासिन्दा बस्नेतले आफूलाई विकासवादी नेताका रुपमा चिनाउने गरेका छन् ।


