काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसको नगर समितिले क्षेत्रीय सचिवसमेत रहेका दीपककुमार रिसाललाई एक नम्बरमा सिफारिस गरेको छ ।
रिसालसहित नगर सभापति कुमार लामा पनि मेयरको सिफारिसमा परेका छन् । नगर समितिले वैशाख ६ गते पत्र जारी गर्दै उपमेयरमा शान्ति नेपाल, गिता सिंखडा र लेखकुमारी पुडासैनीलाई सिफारिस गरिएको जनाएको छ ।
पार्टीले मेयर र उपमेयरमा नै एक महिलासहित ३ जनाको नाम सिफारिस गर्नुपर्ने भने पनि मेयरमा कुनै पनि महिलाको दाबी नभएको नगर समितिले जारी गरेको सूचनामा जनाइएको हो । चैत्र २८ गते बसेको बैठकले नाम सिफारिस गरेको हो । उपप्रमुखमा सिफारिस नेपाल उपमेयर हुन् । मेयर पनि कांग्रेसकै सन्तोष चालिसे छन्, चालिसे क्षेत्रीय सभापति पनि हुन् । गोकर्णश्वर क्षेत्र नम्बर ३ मा पर्दछ । नगरले समितिका पदाधिकारी तथा सदस्यहरुका साथै अरुले रिसाललाइ मेयर बनाउनुपर्छ भनेर गरेको समर्थनको प्रति पनि पार्टीले विभिन्न निकायमा पठाएको छ । रिसाललाई मेयर बनाउन उपयुक्त हुन्छ भन्दै पार्टीका नेतासहित, बुद्धिजिवी र सर्वसाधरणले समेत राय दिएका थिए । सबैको सुझावलाई आधार मानेर नाम सिफारिस गरिएको नगरले जनाएको छ ।
रिसाल गोकर्णेश्वर नगरपालिका–९ जोरपाटी निवासी हुन् । उनी जनताको सुखदुखमा सधैं सहभागी भएका छन् । नगरपालिकाको प्रमुख सल्लाहकारको भूमिकामा रहेर पनि उनले आफ्नो थप लोकप्रियता कमाएका छन् । २०४६ सालदेखि कांग्रेसको राजनीतिमा लागेको बताउने उनी राजनीतिका साथै सामाजिक, धार्मिक, खेलकुदका साथै शिक्षा र स्वास्थ्य क्षेत्रका गतिविधिमा पनि सक्रिय छन् । उनी अरुणोदय माविको व्यवस्थापन समितिका अध्यक्ष तथा गोकर्णेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष हुन् । उनी गोकर्णेश्वर महादेव मन्दिर पुनर्निर्माण समितिको महासचिव पनि हुन् । उनले नगरपालिकालाई कस्तो बनाउने भन्ने खाका पनि बनाइसकेका छन् ।