काठमाडौं । देउवा सरकारले नेपाल र चीनबीचको सीमाबारे अध्ययन गर्न कार्यदल गठन गरेपनि नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीनबीच कुनै सीमा विवाद नरहेको बताएकी छन् ।
नेपाल र चीनबीच सीमा सम्बन्धी सन्धिमा हस्ताक्षर भएको ६० वर्ष पुगेको अवसरमा आज सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले यस्तो दाबी गरेकी हुन् ।
चिनियाँ राजदूत यान्छीले यस्तो बेला नेपाल र चीनबीच कुनै सीमा विवाद नरहेको बताएकी छन् जतिबेला नेपाल सरकारले नेपाल र चीनबीचको सीमा विवाद अध्ययन गर्न गठित समितिले बुझाएको प्रतिवेदन बुझेको छ ।
आजभन्दा ६० वर्ष अघि नेपाल र चीनले मैत्रीपूर्ण सम्वाद मार्फत सीमा सन्धिमा हस्ताक्षर गरेका थिए । हाम्रो सीमा त्यसबेलादेखि विवादरहित छ । दुई देशबीचको मित्रताको बन्धन पारस्परिक रुपमा फलदायी सहयोगको पुल बनेको छ,’ यान्छीले ट्वीटरमा लेखेकी छन् ।
ट्वीटरमा उनले नेपाल र चीनको ऐतिहासिक सम्बन्ध देखाउने तस्विरहरू रहेको लिङ्क पनि सेयर गरेकी छन् ।