काठमाडौं । आइतबारदेखि तुँवालोले ढाकेको काठमाडौं उपत्यकाको आकाश आज पनि खुल्न सकेको छैन ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार वायुमण्डलको सतहमा प्रदूषण छ । वायुण्डलको माथिल्लो तहमा भने बादल बनेको छ ।
‘धुलोका कणलाई बादलले छोपेर राखेको छ, माथि जान दिएको छैन । बादल लागे पनि वर्षामा परिणत हुन सकेको छैन,’ मौसमविद् भट्टराईले भने, ‘वर्षाका लागि उपयुक्त सिस्टम चाहिन्छ । तत्काल सम्भावना देखिँदैन ।’
पानी नपर्दा धुलोका कणहरु ‘ह्युमन वडी’ आसपास प्रदूषण रहेको उनले बताए । वायुमण्डलमा रहेका धुलोका कण सोहोर्न कि त वर्षा हुनुपर्छ कि हुरीबतास चल्नुपर्ने हुन्छ ।
उपत्यकामा हाल स्थानीय वायु त छ । तर, पश्चिमी क्षेत्रबाट आउने जलवाष्पयुक्त वायुसँग स्थानीय ‘कन्भेन्सनल प्रभाव’का कारण आकाशमा तुवाँलो लागेको हो ।