काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथिको छलफलको निष्कर्ष सुनाउने क्रम जारी छ ।
मंगलबार भएको छलफलमा वाग्मती प्रदेश समूहमा निर्वाचन प्रणाली किसान, श्रमजीवी वर्गले नेतृत्व गर्न पाउने खालको बनाउनुपर्ने सुझाव आएको छ । उक्त समूहका सदस्य इन्द्र थिङका अनुसार प्रतिनिधिहरूले कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्ने सुझाव दिएका छन् ।
“मूलतः प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुनुपर्छ । यो निर्वाचन प्रणालीभित्र निम्न प्रकारका किसान, श्रमजीवी वर्गका नेतृत्वले प्रतिष्पर्धा गर्न कठिन छ । निर्वाचन प्रणाली सुधार गर्नुपर्छ भन्ने विषय उठेको छ,” उनले भने ।
माओवादीमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने आवाज उठेको छ ।
त्यस्तै, प्रतिवेदनमा राजनीतिक दलहरूलाई हेर्ने दृष्टिकोणका विषयमा पनि कमजोरी भएको प्रतिनिधिहरूले औँल्याएका छन् ।
प्रतिवेदनमा सबै राजनीतिक दलका मूल प्रवृत्तिका बारेमा किटान गर्नुपर्ने विषय पनि उठेको उनले बताए ।
प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा छलफल गर्न २५ समूहमा विभाजन गरिएको थियो । उनीहरूको छलफलको निष्कर्ष आज प्रस्तुत भइरहेको छ ।