काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग आक्रोशित बनेका छन्। ललितपुरको गोदावरीमा भएको एमालेको विधान महाधिवेशनको अन्त्यमा प्रतिनिधिबाट उठेका प्रश्नको जवाफ दिने क्रममा ओलीले प्रचण्डप्रति आक्रोश पोखेका हुन्।
ओलीले भने, ‘एमालेविरुद्ध आक्रमणका कुरा हामी सुनिरहेका छौँ‚ हिजो पनि दुई दिनअघि पनि। ०६४ मा जस्तै मतपत्र च्यातेर हुन्छ कि बत्ती निभाएर हुन्छ। जसरी हुन्छ कब्जा गरेर जित्नुपर्यो भनेर लागिरहेका छन्। हामीले मतपत्र च्यात्ने र बत्ती निभाउने वातावरण बनाउन दिँदैनौँ। त्यसविरुद्ध तपाईंहरू लाग्नुहोस्।’ओलीले कार्यकर्तालाई कसैलाई अन्याय नगर्न र गरेमा नझुक्न निर्देशन समेत दिए। हामी अन्याय र धाँधली गर्दैनौँ। कसैले गर्छ भने हामी झुक्दैनौँ। गुण्डागर्दी पनि गर्दैनौँ‚ कसैले गर्छ भन्ने हामी झुक्दैनौँ। तपाईंहरू त्यसविरुद्ध सचेत भएर लाग्नुहोस्’‚ ओलीले भने।
त्यसो त शनिबार माओवादीको प्रदेश सम्पर्क समिति भेलालाई सम्बोधन गर्दै प्रचण्डले नेकपा एमालेसँग प्रतिवाद गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिएका थिए। एमाले नेता, कार्यकर्तालाई जाली र फटाहाको संज्ञा दिँदै उनीहरूको प्रतिवाद नगरी आगामी निर्वाचन जित्न नसकिने निष्कर्षसमेत सुनाएका थिए।