काठमाडौं । सर्वोच्च अदालतका १४ न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पद जोगाउनका लागि न्यायालयमाथिको संकटलाई विषयान्तर गर्न खोजेको निष्कर्ष निकालेका छन्
न्यायालयमाथिको विश्वास डगमगाएको, न्यायप्रतिको आस्था धरमराएको बेला यसलाई विषयान्तर गर्न खोजिएको छ,बैठकको निष्कर्षबारे स्रोतले भन्यो, यसको ठोस निकास न्यायिक नेतृत्वले नै दिनुपर्छ ।
बैठकमा न्यायिक नेतृत्वका कारण न्यायालयप्रतिको विश्वासमा आँच आएको विषयमा व्यापक छलफल भएको थियो ।
मिटिङ चल्दाचल्दै प्रधानन्यायाधीशले बार एसोसिएसनका पदाधिकारीसहित फूलकोर्ट बैठक बोलाउने निर्णय गरेको सूचना पुगेको थियो ।
कुन हिसाबले र कुन उद्देश्यले बैठक राखेको भन्ने स्पष्ट भएन, अहिलेको संकटको कारण वर्तमान न्यायिक नेतृत्व नै हो भनेर न्यायाधीशहरू आक्रोशित भएका थिए ।
बैठकमा न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, प्रकाशमानसिंह राउत, आनन्द मोहन भट्टराई र सुष्मालता माथेमा सहभागी थिए ।
यसैगरी न्यायाधीशहरू प्रकाश ढुंगाना, कुमार रेग्मी, हरि फुँयाल, बमकुमार श्रेष्ठ, टंक मोक्तान, मनोज शर्मा र नहकुल सुवेदी पनि आजको बैठकमा सहभागी भएका थिए ।
न्यायाधीशहरू अनिल सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसी र कुमार चुडाल उपत्यकाबाहिर छन् भने ईश्वरप्रसाद खतिवडा देशबाहिर रहेकाले उपस्थित हुन नसकेको स्रोतको दाबी छ ।
अनुपस्थित रहेकामध्ये पनि अधिकांशबाट साथ पाउने अवस्था नरहेकाले राणा सर्वोच्चमा एक्लिएका छन् ।