काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिका–२ स्थित खानेपानीको ट्याङ्की निर्माणका क्रममा आधा काम बाँकी छँदै भुक्तानी दिएर भ्रष्टाचार गरेको भन्दै ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार चंखेली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाहीले आर्थिक वर्ष २०७७/०७८ मा चंखेली–२ स्थित खानेपानी ट्याङ्की निर्माण समेतका कार्यमा आधा अधुरो रहेको कामलाई सम्पन्न भएको भनी नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ताको बिलमा चढाई ६ लाख ४८ हजार ७८६ रुपैयाँ हानिनोक्सानी पुर्याएको ठहर गरिएको हो । त्यसैले सोही रकमलाई बिगो कायम गरी उनीविरुद्ध मुद्दा दर्ता गरिएको छ ।
यस्तै, चंखेली गाउँकार्यपालिकाका इन्जिनियर मान बहादुर ऐडी र प्राविधिक सहायक ९सवइन्जिनियर० गोभधन बोहोराले पनि फिल्डमा नभएको कामलाई सम्पन्न भएको भनेर नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ताको बिलमा चढाई ६ लाख ४८ हजार ७८६ रुपैयाँ भुक्तानी दिन भूमिका निर्वाह गरेको भन्दै आयोगले मुद्दा दायर गरेको हो ।


