काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेणु दाहाल आफ्नो प्रतिस्पर्धीभन्दा झण्डै १० हजार मतले अगाडि छिन् ।
पछिल्लो परिणाम अनुसार उनको अग्रता झण्डै १० हजार मतको छ। रेणुले ४३ हजार ६०६ मत ल्याउँदा नेकपा एमालेका विजय सुवेदीले ३३ हजार ७०३ मतसहित पछ्याइरहेका छन्।
यस्तै, स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १३ हजार ३५० मत पाएका छन्। उपमेयरमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले अग्रता लिइरहेका छन्। मतगणनाको सुरुवाती चरणमा नेकपा एमाले र माओवादी केन्द्रबीच खासै मतान्तर नभए पनि पछिल्लो समय धेरै मतान्तर भएसँगै मेयरमा रेणुको जित हुने आँकलन गरिएको छ ।