काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ ।
बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने बताइएको छ ।
कतिपय स्थानीय तलमले आपसमा कुरा मिल्न नसकेपछि केन्द्रकै हस्तक्षेप खोजेका छन् । उम्मेदवार मनोनयन गर्ने दिन आइसक्दा पनि गठबन्धनमा भागबण्डा मिलेको छैन । सत्तामा रहेका दलहरुले सकेसम्म एक अर्कालाई गलाउने रणनीति बनाएका कारण पनि धेरै पालिकाहरुमा सहमति हुन नसकेको बुझिएको छ । निर्वाचन आयोगले आज भोलि मनोनयन दर्ता गर्ने समय तोकेको छ ।