काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि भोजपुरको कांग्रेस तातेको छ ।
जिल्ला सभापति विनोद वान्तवाले निर्वाचनको लागि तयारीस्वरुप छलफल र अन्तरक्रिया गर्दै आएको बताएका छन् । केही दिनअघि बसेको जिल्ला कार्यसमितिको बैठकले अनुशासन समितिको संयोजकमा सभापति वान्तवालाई नै चयन गरेको छ ।
१ हजार १ जना सदस्य रहेको निर्वाचन परिचालन समिति पनि गठन गरिएको छ यसको संयोजकमा पनि वान्तवा नै रहेका छन् । बैठकले पार्टी महामन्त्री गगन थापाको प्रमुख आतिथ्यतामा हतुवागढीको घोरेटारमा र अर्का महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यतामा षडानन्द नगरपालिकाको दिङ्लामा केही दिनमै कार्यक्रम गर्ने निर्णय गरेको छ ।
बैठकले जिल्ला सचिव कर्ण मोक्तानको संयोजकत्वमा, जिल्ला सदस्य कृष्ण राई सदस्य रहेको अभिलेख व्यवस्थापन समिति गठन गरेको छ । समितिमा एकजना सदस्य थप गर्ने पार्टीले जनाएको छ । ‘हामी अब कडा ढंगले अघि बढ्यौं, भोजपुरको कांग्रेसले केही गरेर देखाउँछ’ सभापति वान्तवाले भने ‘ पार्टीमा को को छन् र उनीहरु के के गर्दैछन् भनेर ‘अपडेट’ गर्न अभिलेख व्यवस्थापन समिति गठन गरेका हौं ।’
वान्तवाले सबैलाई समेटेर पार्टीलाई एकढिक्का बनाएर लैजाने स्पष्ट पारेका छन् । भोजपुरमा प्रतिनिधिसभामा एउटामात्र क्षेत्र रहेको छ । वान्तवाले प्रतिनिधिसभा, प्रदेश र स्थानीय तहमा पनि सानदार जित हुने गरी अभियान अघि बढाइएको बताए । उनले भोजपुरमा कांग्रेसको जितलाई कसैले रोक्न नसक्ने बताएका छन् ।