काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशैभर भ्यू टावर बनाउने कामको बचाउ गरेका छन् । ओलीले आफ्नो कार्यकालमा बनेका भ्यू टावर भन्दै तिनीहरूको बचाउ गरेका हुन् ।
एमालेले सुरु गर्न लागेको ‘सामाजिक सेवा केन्द्रुको आइतबार सुरुवात गर्दै ओलीले भ्यू टावरको आलोचना भएकोमा असन्तुष्टि व्यक्त गरेका हुन् । ‘हामीले बनाएका भ्यू टावरहरू सभ्यता, विकास, व्यापारिक र अन्य आर्थिक क्रियाकलापका केन्द्र हुन् । हाम्रा पर्यटनका स्थलहरू हुन् । हाम्रा स्वदेश र विदेशका मान्छेहरू, आन्तरिक पर्यटन र बाह्य पर्यटन समेतलाई आकर्षित गर्ने कुरा हुन्,’ भ्यू टावरको विरोध गर्नेहरूलाई ओलीले भने, ‘तर केही मान्छे बुझ्दैनन् र के भन्छन् भने अब उनीहरूको पार्टीको नाम लिएर हाम्रो पार्टीले भ्यू टावर बनाउन्न भनेर कसम खानुपर्नेछ, प्रतिज्ञा गर्नुपर्नेछ, धर्म भाक्नुपर्नेछ भन्दै हिँड्छन् ।’
सरकारको नेतृत्व गरिरहेको कांग्रेसका नेता शेखर कोइरालाले आइतबार नै स्थानीय तहको निर्वाचनमा भ्यू टावर नबनाउने कुरा घोषणापत्रमा लेख्न कार्यकर्ताहरूलाई सुझाव दिएका थिए । सोही कुरातिर लक्षित गर्दै ओलीले उक्त कुरा बताएका हुन् ।