काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनका लागि एक लाख म्यादी प्रहरी माग गरिएकोमा दुई लाख ९३ हजार ३१२ जनाको आवेदन परेको छ।
प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार शुक्रबार अन्तिम दिनसम्म दुई लाख ९३ हजार ३१२ जनाले आवेदन दिएका हुन्।
सातै प्रदेशका जिल्ला प्रहरी कार्यालयमार्फत निवेदन दिन सक्ने व्यवस्थासहित चैत ६ देखि ११ गतेसम्मका लागि म्यादी प्रहरीमा भर्ना खोलिएको थियो।
प्रहरीको तथ्यांकअनुसार आवेदन दिनेमा मधेश प्रदेशको जनकपुरमा सबैभन्दा बढी ६८ हजार छ जनाको आवेदन परेको छ। त्यसपछि लुम्बिनी प्रदेशमा ५६ हजार ५६०, प्रदेश १ मा ५० हजार ९४४, सुदूरपश्चिम प्रदेशमा २९ हजार ७१४, बागमती प्रदेशमा २६ हजार ८३४, गण्डकीमा २५ हजार ५० र सबैभन्दा कम उपत्यकामा १३ हजार ९५० आवेदन परेको छ।
प्रदेश १ मा १७ हजार ८३१, मधेस प्रदेशमा २१ हजार ६९८, बाग्मती प्रदेशमा १९ हजार ३६३, गण्डकी प्रदेशमा १० हजार ६२५, लुम्बिनीमा १६ हजार ९८, कर्णालीमा सात हजार ७१३ र सुदूरपश्चिममा नौ हजार ९३७ र काठमाडौं उपत्यकामा चार हजार ७३५ म्यादी प्रहरीमा माग गरिएको थियो ।
भर्ना खुल्ला गरिएको पहिलो दिनदेखि नै आवेदन दिनेको भीड लागेको थियो । ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत् आवेदन दिन सकिने व्यवस्था मिलाइएको थियो। म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ बाट सुरु हुनेछ।