काठमाडौं ।सर्वोच्च अदालतले ८० वर्षका व्यक्तिलाई नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धक नियुक्त गर्नु गैरकानुनी रहेको व्याख्या गरेको छ ।
सरकारले ३० असार २०८३ मा ८० वर्षे महेश्वरभक्त श्रेष्ठलाई वायुसेवा निगमको कार्यकारी अध्यक्ष पदमा नियुक्त गरेको थियो । उक्त नियुक्ति गैरकानुनी भएकाले उनलाई बर्खास्त गर्दै आफूलाई त्यस पदमा नियुक्त गर्नुपर्ने माग राख्दै निगमकै सञ्चालक उपेन्द्रबहादुर कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
सोही रिटउपर बिहीवार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको संयुक्त इजलासले कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकमा श्रेष्ठको नियुक्ति सरकारकै मापदण्ड एवं निगमको कार्यविधि विपरीत रहेको ठहर गरेको हो ।
नेपाल सरकारको सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३ को दफा ३ (घ) मा कार्यकारी प्रमुखका हकमा नियुक्तिका लागि ३० वर्ष पूरा भई ६५ वर्ष उमेर ननाघेको र पदाधिकारीका हकमा ३५ वर्षको उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ ।


