काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कमजोर भए देश पनि कमजोर हुने बताएका छन्।
भक्तपुरको नगरकोटस्थित चाँगुनारायण नगरपालिका–८, चरेलीमा शनिबार आयोजित एमाले जनसङ्गठन समन्वय संयन्त्रको दुईदिने कार्यशाला उद्घाटन गर्दै अध्यक्ष ओलीले देश सङ्कटपूर्ण अवस्थामा रहेकाले पार्टीलाई थप सुदृढ बनाएर अघि बढाउनुपर्ने बताए।
उनले व्यक्तिगत स्वार्थ र दोषारोपणभन्दा माथि उठेर पार्टी र देशको हितमा केन्द्रित हुनुपर्ने समय आएको बताउँदै जनसङ्गठनहरू एकताबद्ध भएर पार्टीलाई बलियो बनाउन लाग्नुपर्नेमा जोड दिए ।
देश र जनताको हितमा सरकारले काम गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले प्रतिपक्षको भूमिकामा रहेर सरकारलाई निरन्तर खबरदारी गरिरहने बताए।


