काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत सभापति पदको छिनोफानो भइसकेको छ । सुरुमा सभापतिका लागि ६ जनाले उम्मेदवारी दिएको भए पनि अन्तिममा आएर ५ जना मात्रै उम्मेदवार बनेका थिए ।
पहिलो चरणको चुनावमा पाँचै जनाले ५० प्रतिशत मत कटाउन नसक्दा सभापतिको छिनोफानो दोस्रो चरणको चुनावबाट गरिएको थियो । दोस्रो चरणको चुनावमा शेखर कोइरालाई पराजीत गर्दै शेरबहादुर देउवा पुनः सभापतिमा विजयी भएका हुन् ।
अब भने सभापति बाहेक पदका लागि भएको मतदानको मत गणनाको तयारी सुरु भएको छ । सबैको चासोको रुपमा हेरिएको महामन्त्री पदमा २ जना विजयी हुनेछन् । २ जना महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका छन् ।
महामन्त्रीमा डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, विश्वप्रकाश शर्मा, गगनकुमार थापा, प्रदीप पौडेल र डा राजाराम कार्कीले उम्मेदवारी दिएका छन् ।
उम्मेदवारहरुमध्ये प्रदीप पौडेल र प्रकाशशरण महत प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बनेका हुन् भने गगनकुमार थापा र डा.मीनेन्द्र रिजाल शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेका हुन् ।
अर्का उम्मेदवार विश्वप्रकाश शर्माले प्रकाशमान सिंह प्यानलबाट उम्मेदवारी दिएका हुन् । यस्तै राजाराम कार्मीले भने सभापतिका अर्का उम्मेदवार विमलेन्द्र निधिको प्यानलबाट महामन्त्री पदमा उम्मेदवारी दिएका हुन् ।
उनीहरुमध्ये चयन हुन २ जनाका लागि चुनाव भईसकेको र आज बुधबार नै उनीहरुको मतगणना सुरु गर्ने तयारी भइरहेको छ । यो पटकको कांग्रेस महाधिवेशनमा महामन्त्री को बन्ला रु भन्ने विषयलाई आम चासोका रुपमा हेरिएको छ ।
यस्तै उपसभापतिमा विजयकुमार गच्छदार, महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी साह र पूर्णबहादुर खड्काले मनोनयन दर्ता गराएका छन् ।
यसैगरी सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, बद्रीप्रसाद पाण्डे, फर्मुल्लाह मनसुर, सुरेन्द्र चौधरी, शेख वकिल, देवराज चालिसे, किशोरसिंह राठौर, रञ्जीत कर्ण, जीवन परियार, रामकृष्ण यादव, जीवनबहादुर शाही, विकास लामा, कमला पन्त, तेजुलाल चौधरी, भीष्मराज आङदाङवे, चेतनाराज बजाल, उमाकान्त चौधरी, गङ्गा सुनार, महेन्द्र यादव र डिना उपाध्यायले उम्मेदवारी मनोनयन गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।