काठमाडौं । नेपाल वायूसेवा निगमका नवनियुक्त अध्यक्ष युवराज अधिकारी विगतमा निगमभित्रै यौन दुराचारमा मुछिएको पाइएको छ । निगमका महिला कर्मचारीहरुले उनीबाट यौनहिंसा भोगेको भन्दै महिला आयोगमा उजुरी दिएका थिए ।
सोमबारको मन्त्रीपरिषद बैठकले अधिकारीलाई कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय लिएको हो । नेकपा ९एकीकृत समाजवादी०का सम्मानित नेता झलनाथ खनालको दवावमा अधिकारीलाई कार्यकारी अध्यक्ष बनाइएको स्रोतले बतायो । अधिकारले विगतमा निगममै विभिन्न पदमा रहेर काम गरेका थिए । अर्थ विभागको निर्देशकका रुपमा काम गर्दा मातहतका कर्मचारीलाई यौन हिंसा गरेको उनीमाथि आरोप छ
![](https://www.newssawal.com/wp-content/uploads/2021/10/nepal-airlines-1-1-1.jpg)
२०७४ सालमा सो विभागका कर्मचारीले महिला आयोगमा उजुरी दिएका थिए । अधिकारीले कार्यालयमै विभिन्न प्रकारले मानसिक यातना दिएको भन्दै पक्राउ गरेर कारवाही गर्न उजुरीमा माग गरिएको थियो ।
उजुरीमा अधिकारीले विभिन्न ओहदामा रहँदा महिला कर्मचारीलाई कार्यालय समयमा आफ्नो कार्यकक्षमा एकान्त कोठामा बोलाउने, आहा कति राम्री भएकी भन्ने, शरीरको संवेदनशील अंगहरुमा गलत नियतले हेर्ने र छुने प्रयास गर्ने, यौनिक हिंसाजन्य कुराहरु गर्ने, तथा यौनिक क्रियाकलाप गर्न खोज्ने गरेको आरोप लगाइएको छ ।
उजुरीमा भनिएको छ, ‘विदेश घुम्न जाउँ, मसँग रमाइलो गरौं, मोज गर्नुपर्छ, छोराछोरी तथा श्रीमान नलिइकन हिँड, तिमी बच्चा जन्माइरहने होला, यसले गर्दा तिमी पछाडी पर्यौ भन्दै मानसिक यातना दिएको र हाम्रो आत्मसम्मानमा गम्भीर चोट पुगेको साथै कार्यस्थलमा सहज, सुरक्षित, स्वस्थ, सम्मानपूर्वक तथा मर्यादित वातावरणमा काम गर्न पाउने अधिकारको गम्भीर उल्लंघन गरेकाले निज युवराज अधिकारीलाई तुरुन्त पक्राउ गरी कारवाही गरिपाउँ ।’
![](https://www.newssawal.com/wp-content/uploads/2021/10/nepal-airlines2-1.jpg)
यस विषयलाई लिएर महिला कर्मचारीहरुले निगमका तत्कालीन महाप्रबन्ध सुगतरत्न कंशाकार समक्षसमेत निवेदन दिएका थिए । अधिकारीले आफ्ना हर्कतहरुका लागि क्षमायाचना गर्दै आइन्दा यस्तो काम नगर्ने भनेर दुई पक्षबीच मेलमिलाप गराइएको थियो ।