काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य एस्मी ढुंगानासहति सयौं कार्यकता नेपाली कांग्रेस प्रवेश गरेका छन् । विहीबार बिहान पार्टीको केन्द्रीय खेलकुद विभाग मध्य बानेश्वरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि एवं सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले नवप्रवेशीहरुलाई खादा माला लगाएर स्वागत गरेका थिए ।

पूर्वमन्त्री समेत रहेका मोहनबहादुर बस्नेतले पछिल्लो समय अन्य पार्टी त्याग गरेर नेपाली कांग्रेस प्रवेश गर्नेहरुलाई पार्टीले उचित जिम्मेवारी दिने बताउँदै आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दावी गरे । उनले विगतमा आफूले गरेको काम हेरेर अन्य पार्टीमा आवद्ध रहेकाहरुले समेत आफूलाई मत दिने बताए ।

उनले निर्वाचन प्रचारप्रसारको सिलसिलामा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सबै ठाउँमा गएर स्थानीयहरुसँग छलफल गरेको बताउँदै आगामी पाँच वर्षमा धेरै काम गर्ने दावी गरे । नवप्रवेशी एस्मी ढुंगानाले देशमा विकास गर्नेसक्ने पार्टी नेपाली कांग्रेस मात्रै भएको बताउँदै आफूहरु मोहन बस्नेतलाई विजयी गराउन आतुर रहेको उल्लेख गरिन् ।
विकासप्रेमी नेताका रुपमा चिनिएका बस्नेतले सिन्धुपाल्चोकको विकासमा गरेको योगदान सबैलाई जानकारी भएको बताइन्।



