काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सुर्खेतको प्रमुख पर्यटकीयस्थल काँक्रेबिहारको अवलोकन गरेकी छन्।
राष्ट्रपति भण्डारीले कर्णाली प्रदेशमा पर्यटनको अथाह सम्भावना रहेको र कांक्रेविहारजस्ता ऐतिहासिक सम्पदाको प्रवद्र्धन गर्न जरुरी रहेको धारणा राखेकी थिइन् । साथै उनले काँक्रेविहारको ऐतिहासिकता, निर्माण प्रक्रिया, व्यवस्थापनबारे जिज्ञासा ब्यक्त गरेकी थिइन् ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले राष्ट्रपतिको सुर्खेत बसाइँका क्रममा आफूहरूले काँक्रेबिहार अवलोकन गराएर स्वागत गरेको बताए।
अवलोकनपश्चात राष्ट्रपतिलाई नगरपालिकाको तर्फबाट प्रमुख ढकालले सुर्खेतका पर्यटकीयस्थलहरू समेटिएको मायाको चिनो हस्तान्तरण गरे। राष्ट्रपति भण्डारीलाई काँक्रेबिहार परिसरमा कर्णाली प्रदेशसभाका सदस्य, वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले स्वागत गरेका थिए।
राष्ट्रपतिका स्वकीय सचिव सोम राईले काँक्रेविहारको सांस्कृतिक, ऐतिहासिक, पुरातात्विकपक्षको प्रबर्द्धन गर्ने उद्देश्यले अवलोकन भ्रमण गरेको बताए।